मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

अब सम्झना मात्रैः इन्द्र लोहनील

श्रद्धाञ्जलि इन्द्र लोहनीलाई- जय होस् !


अपडेटः इन्द्र लोहनीको भौतिक शरीर अब हामीमाझ रहेन। पशुपति आर्यघाटमा आज उनको दाहसंस्कार गरियो। लोहनीका छोरीहरु मात्र भएकोले पार्थिव शरीरमा उनका भाइ मधु लोहनीले दागबत्ती दिएका थिए। स्वर्गीय लोहनीलाई श्रद्धाञ्जलि दिन आर्यघाटमा विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, सञ्चारकर्मी कलाकार र उनका फ्यानहरुको घुइँचो थियो।लोहनीको शव नेपाल बार एसोसिएसनबाट गाडीमा राखी बबरमहल, बानेश्वर, तीनकुने हुँदै आर्यघाट पुर्‍याइएको थियो। शवयात्रामा कानुन व्यवसायी र सञ्चारकर्मीको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो। यसअघि स्वर्गीय लोहनीको शव नेपाल बार एसोसिएसनको प्राङ्गणमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखिएको थियो।

protest-bar
कार्यक्रममात्र हैन, ज्ञानेन्द्रको शासनविरुद्धको आन्दोलनमा पनि उनी सक्रिय थिए। सन् २००६ को अप्रिलमा भएको आन्दोलनका क्रममा बार सचिवका रुपमा लोहनीले अग्रणी भूमिका खेलेका थिए। आन्दोलनमा उनी घाइते समेत भएका थिए। फाइल फोटोः सागर श्रेष्ठ

अधिवक्ता तथा चर्चित टेलिभिजन टक सो ‘बहस’का प्रस्तोता इन्द्र लोहनीको शुक्रबार राति मृत्यु भएको छ। मान्छेको जीवनको पनि के भर र। कहिले के हुन्छ, भन्नै नसकिने। दिउँसोसम्म मात्र उनी आफ्नी कान्छी छोरीलाई लिएर गाडीमा घुम्न गएका रहेछन्। गाडी मै ह्रदयाघात भएछ। साढे सात बजेतिर अस्पताल पुर्‍याउँदासम्म त उनको प्राण गइसकेको रहेछ।

दर्शकहरुलाई कार्यक्रममा ‘जय होस्’ को अभिवादन गर्ने गरेका लोहनीले आफ्नो कार्यक्रममा नागरिक चासोका विषयलाई उठाउँथे। कानुन व्यवसायी भएकोले पनि होला, अदालती शैलिमा सीधा रुपमा प्रष्ट जवाफ खोज्ने उनका प्रश्नहरुले नेताहरुलाई र्‍याखर्‍याख्ती पारेको दृश्य दर्शकहरु रमाइरमाइ हेर्ने गर्थे। सुरुमा उनी नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे। तर सरकारले उनको कार्यक्रममा रोक लगाएपछि उनको त्यो चर्चित कार्यक्रम निजी टेलिभिजन कान्तिपुरमा प्रसारण हुन थाल्यो। तर यो सब अब सम्झनाको पानामा मात्र बाँकी रहने भएको छ। श्रीमति अनि चार र १० वर्षकी दुई छोरी र आफ्ना असंख्य दर्शकलाई छाडी ४१ वर्ष मै लोहनी संसारबाट विदा भएका छन्।

अलविदा इन्द्र लोहनी, आत्माको चीर शान्तिको कामना। जय होस् !

अब सम्झना मात्रैः इन्द्र लोहनील

No comments: