मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, May 28, 2011

पार्टी र कलाकार

अभिनेता मनोज गजुरेल- राम्रा हास्यव्यंग्य लेखक पनि हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातक गजुरेल डामाडोल  हास्यव्यंग्य अनलाइनका सम्पादक पनि हुन्। यो अंकदेखि हामीले उनको नयाँ स्तम्भ 'लास्टपेज' सुरु गरेका छौं। यस स्तम्भमा गजुरेलले पाठक  रुचिलाई ध्यानमा राखेर आफ्ना कुरा राख्नेछन्। आशा छ, मनोज गजुरेलको यो स्तम्भबाट हाम्रा पाठकले यथेष्ट मनोरञ्जन, सूचना एवं  सन्तुष्टि प्राप्त गर्नुहुनेछ। -सम्पादक

'भुवन केसीजस्ता रसिक नायक पार्टी प्रवेश गरेपछि बल्ल एमालेको लिङ्ग पहिचान भएको छ,' एक दर्शकले भने। अर्काले थपे- 'नीरजस्ता  महान् राजाहरू सर्वहारा बनेपछि बल्ल माओवादीको सैद्धान्तिक अङ्ग प्रस्ट भएको छ।' तेस्रा दर्शकको तर्क थियो- 'स्वतन्त्र रहनुपर्ने  कलाकारहरू पार्टीको पकेटमा पसेपछि तिनको रङ्ग छेपारामय भएको छ।'

कलाकारका बारेमा यस्ता प्रतिक्रियाहरू जताततै सुनिन्छन्। कहिलेलेकाहीं त्यसको जवाफ हामीले दिनुपर्ने अवस्था आउँछ। हुनत जवाफ दिने  आधिकारिक व्यक्ति यो स्तम्भकार होइन, तर पनि पेसागत धर्म निर्वाह गर्ने क्रममा विभिन्न दर्शकहरूलाई दिइएका जवाफका केही अंश

' लास्टपेज' को पहिलो अंकमा प्रस्तुत गरिएको छः

'फलानो कलाकार त चिलानो पार्टीमा गएछ नि ?'

-'जानेलाई सप्रेम बिदाई, आउनेलाई न्यानो स्वागतको संस्कार बढाऔं।'

'यो पार्टीले कारबाही गर्ने भएपछि पो त्यो पार्टीमा गएको रे त π'

-'मेरोमा रहुन्जेल इमान्दार, तेरोमा जाँनासाथ गद्धार- यस्तो विकृत सोचको छैन उपचार।'

'कलाकारले त कला पो देखाउनुपर्छ, राजनीति गर्ने हो त ?'

-'राज्यको नीति सबैले बुझ्नुपर्छ— पद, प्रतिष्ठाको पछि पो कुद्नु हुन्न।'

'पार्टीमा आबद्ध कलाकारमात्र देश र जनताका लागि प्रतिबद्ध हुन्छन् र ?'

-'पेटीमा बसेर सारङ्गी बजाउनेले पनि उत्तिकै देश र जनताको भाषा बोलिरहेका हुन्छन्।'

'पोलिटिक्स इज डर्टी गेम भन्छन् नि केही कलाकारहरू ?'

-'मिस अन्डरस्टयान्डिङ π राजनीति देश हाँक्ने इन्जिन हो- केही मेकानिक्सहरू मात्र अदक्ष भए।'

'के कलाकारहरू साँच्चै कसैका हैनन् त ?'

-'प्रश्न नै गलत छ। कलाकार कसैका हैनन् भन्ने तर्क नै गलत छ-कलाकार सबैका हुन्।'

'सबैको हुन खोज्दा कसैको पनि नरहने स्थिति आउँदैन ?'

-'कला र विचार आफ्नो लैजाने हो, मञ्च जसको प्रयोग गरे पनि हुन्छ।'

'कलाकारले त कलाकारिता गर्ने हो, कहाँबाट आयो यो बिचारको कुरा ?'

-'बिचारबिनाको कला र भैंसीको थलाबीच केही फरक छैन।'

'कलाकारलाई नेताहरूले किन स्वागत गर्छन् होला ?'

-'उनीहरूलाई लाग्दो हो- जनता आफ्नो पाकेटका एटीएम हुन्, जसलाई चाहेको बेला भजाउन सकिन्छ।'

'त्यसो भए जनता पार्टीहरूका एटीएम हैनन् त ?'

-'अहँ, पटक्कै हैनन्। कला र विचारमा देश र जनता बोकेर हिँड्ने कलाकार नै जनताका सच्चा प्रतिनिधि हुन्। जनता कसैका बैंक ब्यालेन्स  हैनन्, उनीहरू त यो देशका आन्तरिक पर्यटक हुन्- जो कहिले यो पार्टीलाई मान्छन्, कहिले त्यो विचारलाई असल ठान्छन्। कहिले यता  बस्छन्, कहिले त्यता पस्छन्। तपाईंको पर्यटनस्थल (पार्टी) आकर्षक रहुन्जेल पर्यटक त्यहीं रहन्छन्, जब दुगन्र्ध बढ्छ, आकर्षण घट्न थाल्छ-  तब नयाँ पर्यटनस्थलको खोजीमा लाग्छन् π

राजनैतिक कार्यकर्ताका नजरमा यो अराजक विचार होला, तर जनताका नजरमा यही नै राजनैतिक पार्टी र नेतृत्वलाई सही दिशामा डोर्‍याउने  प्रभावकारी उपाय हो।

लास्ट पोज

















देश मात्र होइन, राष्ट्रियता पनि

'दुई वर्षमा संविधान बन्छ भन्थे,

नेपाल साँच्चिकै नयाँ हुन्छ भन्थे,

देश संघीयतामा जान्छ भन्थे,

तर,

न संघि 'यता' भयो, न संघि

'उता' भयो,

न सरकार आफैं चलाउने बलबुता भयो,

उल्टै 'देश' विदेशीको जुत्ता भयो,

'राष्ट्रियता'- त्यही जुत्ताको फित्ता भयो !'

हो, 'देश' र 'राष्ट्रियता' !


मेची र महाकालीबीचको भूभाग 'देश' हो भने यहाँभित्रका भाषा, संस्कृति, परम्परा, प्रकृति— हाम्रा 'राष्ट्रियता' हुन्। जसरी, सिमाना मिचिंदा हाम्रो 'देश' दुख्छ, त्यसरी नै संस्कृति थिचिंदा हाम्रो 'राष्ट्रियता' दुख्नुपर्छ। सत्ताखेलमा 'मित्रराष्ट्र'हरूको हस्तक्षेप हुँदा जसरी हाम्रो स्वाभिमान निहुरिन्छ, त्यसरी नै एनजिओखेलमा 'परम्परा' मेटिंदा हाम्रो इमान पिरोलिनुपर्छ। तर, हामी सिमानाको मात्र पछि लाग्यौं- सँगसँगै 'राष्ट्रियता'पनि बचाउन सकेको भए कस्तो राम्रो हुन्थ्यो !

संस्कृति मेटिंदो छ, प्रकृति लुटिंदो छ, परम्परा पेलिइँदो छ। भाषा-भाषिका लोपोन्मुख छन्, धर्म परिवर्तनको बाढी आएको छ— त्यतातिर कमैको ध्यान गएको देख्दा यस्तो लाग्छ— देश नामको भूगोलमात्र ठूलो कुरा हो- यहाँभित्रका 'राष्ट्रियता' केही होइनन् ! तर, याद राखौं—

'मातृत्व, मातृभूमि, मातृभाषा— जब बिर्सन्छौं जानी-नजानी,

सम्झौं, हाम्रो सारा लगानी— भयो बालुवामा पानी।'


कविता पढेर तपाईंका मनमा विभिन्न भाव उम्लिन थाले होला। कोही नेतालाई गाली गर्न थाल्नुभयो होला, कोही पंक्तिकारलाई ताली दिन थाल्नुभयो होला, तर सोचौं- हाम्रो राष्ट्रियता जोगाउन हामी आफूले चाहिं के गर्‍यौं त !

हिन्दी सिरियल 'गीत'की नायिका रुँदा हाम्रो चित्त दुख्छ, लोकगायिका योगिता मोक्तानको मृत्युको खबर कसैलाई थाहा नहोला ! भ्यालेन्टाइन 'डे' सेलिब्रेट गरिरहँदा 'मार्टियस् डे' को सम्झना सायदै कमैलाई होला ! आफ्नो मातृभाषाको 'लिपि' थाहा नहोला— ब्राइन्ड एडम्सका सबै गीतको 'लिरिक्स' कण्ठै होला ! वास्तवमा, हामी नेपाल देशका 'नागरिक' हौं, तर 'राष्ट्रियताका हकमा हामी आधा राष्ट्रिय आधा अन्तर्राष्ट्रिय भयौं ! हाम्रो आफ्नोपन गोलमटोल हुन पुग्यो !!

हो, नागरिकमा राष्ट्रियताको भाव जगाउने काम नेतृत्वले गर्नुपथ्र्यो। दुर्भाग्य ! सिस्नुपानी नेपालले भनेझैं स्थिति छ—

'कोहीका मुख दिल्लीतिर, कोहीका चाइना फिरेका,

जुनै जोगी आए पनि कानै चिरेका !'


राजनीतिज्ञलाई 'देश'मात्र भए पुग्छ, जनतालाई देश र देशभित्रको विशाल 'राष्ट्रियता' चाहिन्छ। त्यसलाई जोगाउने पनि त्यसैले हो, जसलाई त्यसको बढी आवश्यकता पर्छ। बहुराष्ट्रिय टिभी च्यानलहरूमार्फत हाम्रो भाषा, संस्कृति अतिक्रमित हुँदैछन्, त्यसको सीमा रेखा कोरौं। भाषा, संस्कृति, एकता र आफ्नोपन सिद्धियो भने देशमात्रै बाँकी रहेर केही पनि हुँदैन। राष्ट्रियताबिनाको देश र देशबिनाको राष्ट्रियता— हावाबिनाको भकुन्डो हो, न गुड्छ, न उड्छ !!

यदि 'राष्ट्रियता' सिमानामात्र होइन भने, 'राष्ट्रियता' जोगाउने काम त नेपाल देशभन्दा बाहिरका नेपालीहरूले गरिरहेका छन्। हामी त सिमानाका लागि मात्र चिन्तित भयौं— 'राष्ट्रियता'का बारेमा चिन्तित नेपाली खोज्न त दार्जीलिङ, आसाम र बर्मा जानुपर्छ, नेपालीपन र नेपाली मन त त्यहाँ छ। नेपाली संस्कृतिको प्रयोग र संरक्षण त उनीहरूले गरिरहेका छन्। त्यही भाषा-संस्कृतिकै कारण भुटानीहरूले आफ्नो देशबाट लखेटिनुपर्‍यो। पुनर्वास गराइएका भुट्निज नेपालीहरूले त्यहाँ सबैभन्दा लामो समयसम्म सिमानाबाहिरको 'राष्ट्रियता' जोगाइराख्ने पक्का छ। विभिन्न कारणले विदेशमा स्थायी बसोबास गर्ने सम्पूर्ण नेपालीले 'नेपालका राष्ट्रियताहरू' जोगाइरहेका छन्, त्योभन्दा बढी अब हामीले जिम्मेवारीबोध गर्नुपर्छ। किनभने-

सिक्किममा बाढी आउँदा, दार्जीलिङमा पहिरो

'देश' जस्तै 'राष्ट्रियता' को नाता हुन्छ गहिरो।'