मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, January 18, 2009

परेवा केही दिनअघिदेखि मर्न थाले

नेपालको पूर्वी नाका काकडभिट्टामा बर्ड फ्लुको संक्रमण भेटिएको पुष्टि भएर त्यहाँ संकटकाल घोषणा भइसकेको छ। आइतबार अपराह्नदेखि त्यहाँ विशेषज्ञसहितको प्राविधिक टोलीले काम पनि गरिसकेको छ। नेपालको अन्य भागमा बर्ड फ्लु फैलिएको पुष्टि भइसकेको छैन। तर बुटवलको तल्लो सिद्धबाबा मन्दिरका परेवाहरू भने भकाभक मर्न थालेको खबर आएको छ। त्यहाँ रहेका करिब ३०० परेवामध्ये डेढ सय परेवा केही दिनअघिदेखि मर्न थालेका छन्।


मन्दिरका सहयोगी पुजारी विश्वनाथ योगीले आफूले यस्तो तरिकाले मरेको कहिल्यै नदेखेको बताएका छन्। परेवा मर्न थालेपछि मन्दिर विकास समितिलाई जानकारी पनि गराएको तर त्यति वास्ता नभएको उनले बताएका छन्।

मन्दिरमा मरेका सयौं परेवाहरू मन्दिर आसपासको क्षेत्रमा वेवारिसे अवस्थामा फालिएका छन्। परेवा के कारणले मरेको हो, थाहा हुन सकेको छैन। बर्ड फ्लु हो भने एउटा अर्को समस्या निम्तिन सक्छ।

उता संकटग्रस्त क्षेत्र काकडभिट्टामा हिजैदेखि कुखुरा र अन्य पंक्षी मार्न सुरु गर्ने भनिए पनि प्राविधिकहरुको टोली नआएको भन्दै आजबाट मात्र काम सुरु गरिएको छ। छ जना विशेषज्ञसहितको ५६ जनाको र्‍यापिड रेस्पन्स टिमले अब त्यहाँका कुखुरा, हाँस तथा अन्य वस्तु नष्ट गर्ने काम सुरु गरेका छन्।

कुखुरा व्यवसायीहरुले सरकारले तोकेको क्षतिपूर्ति रकम कम भयो भन्दै प्रभावित क्षेत्रमा जान रोकेका थिए। क्षतिपूर्ति रकम केही बढाउन सरकारलाई सिफारिस गर्ने स्थानीय प्रशासनले बताएपछि आइतबार अपराह्नदेखि त्यहाँ काम सुरु भएको हो।