मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, August 5, 2011

मैले भगवान देखें

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । 'अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,' यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती
थियो ।
'राम्ररी जानू,' हिँड्नेबेला आमाले भन्नुभो, 'भीरैभीर नहिँड्नू ।'
बाटोमा छोराले खान पाउला कि नपाउला, आमाले सोच्नुभयो र बिहान रोटी पकाइदिनुभो । टिमुर, टमाटर र धनियाको अचार ।
बजारमा टिम तयार भइसकेको थियो । आठ जनाको । र, टिम लिडर थिए, बटालाजी । नामचाहिँ बिर्सें । बिरेन्द्रको सालिकछेउ उनको होटेल थियो । भाकल पूरा भएपछि फेरि जानुपर्छ, देवीको दर्शन गर्न, सबैले भन्थे । त्यसैले उनी जाने तयारीमा थिए । बाटो उनैले देखेका । हामी पछि लाग्ने भयौं ।
'बडीमालिका' को दर्शन गर्न जीवनमा एकपल्ट त जो पनि जानैपर्छ । भाकल पनि पूरा हुन्छ रे । त्यसो भए त जानैपर्ला । मसित पनि एउटा भाकल थियो । जो पूरा नभए, मेरो जीवनको बाटो अँध्यारोतिर मोडिन्थ्यो ।
बडीमालिका पुग्न कम्तिमा तीन दिन लाग्छ रे । बाटोमा रात परेर बास पाइएन भने कहाँ सुत्ने ? बटालाजीले भनेका थिए, 'चिन्ता नलेउ तिमीहरू । मसित टेन्ट छ । बाह्रजना त अटिहाल्छौं नि ।' त्यसो भए बेसै भयो ।
दमका रोगी र तल्लो जातका मानिसले जानुहुन्न, अर्को नियम थियो । बडीमालिका उक्लिँदै गएपछि, अक्सिजनको कमी हुने भएकाले दमका रोगीलाई गाह्रो पर्छ रे । तल्लो जातको मानिस गयो भने बडीमालिकाले श्राप दिन्छिन् रे ।
हाम्रो पसल छेउकै जगत सुनार त्यसैले डराइरहेका थिए । दोस्रो विवाहपछि पनि छोरा नभएपछि उनी निरास थिए । हिँड्नेबेला उनले सुटुक्क बोलाएर घरपछाडि लैजाँदै भने, 'बाबुसाहेव । मेरो पनि भाकल गरिदिनुपर्ला ।'
उनले 'सुनको पाउ' कपडामा गाँठो पारेका थिए । मैले लिएँ । र, ब्यागको पछिल्लो पाकेटमा घुसारें । जगत दाइको भाकल थियो, 'बडिमालिका माइ । यो बर्ख छोरो पाउँ ।'
दिन छ्याङ्ग थियो । सोचें, बाटोमा गाह्रो त नपर्ला । बटालाजी अघिअघि, हामी पछिपछि, सिधै ओरालो । सदरमुकामदेखि सेरीजिउलासम्म । सेरिजिउलाको पुल नाघेपछि, कर्णालीको किनारैकिनार समथल बाटो पर्छ, बटालाजीले सुनाएका थिए । नयाँ जोस र हर्षले ४५ मिनेटमै ओरालो झरेका थियौं । उक्लिन त दुई-तीन घन्टा नभै हुँदैन ।
समूहमा दुई केटी भएपछि, यात्रा त 'भेज' हुने भैगो । फेरि तिनीहरूको पसिना भरिएको रातो अनुहार एकदम रुन्चे भइसकेको थियो । कसरी हिँड्लान् यत्रो यात्रा ?
मलाई पिर तिनकै थियो । 'दाइ हामी पनि जाने' भन्दै पछि लागेका थिए, अब दुख्ख पाउने भए ।
दिनभरि तिनकै चिन्ता थियो । साँझपख भने अरूलाई मेरो चिन्ता सुरू भयो । पारि डाँडाको काखमा शान्त बसेको रास्कोटलाई दाहिने कुम पारेर हिाडिरहँदा, अचानक मेरा गोडा बांगिए । लुला भए । म फुर्लुङ पल्टिएा । सप्पै दगुरेर आए । ज्या, पिडौंला त अगाडि फर्किएछन् ।
पारिको रास्कोट फनक्क घुम्यो । त अब मरिने भइयो । बटालाजी अगाडि थिए । दगुरेर आए ।
'के भो ?'
'पिंडौला फर्कियो ।'
'धै धै ।' उनले मेरा पिंडौला मिचिदिए र भने, 'हट त ।'
म जुरुक्क उठें र फुर्लुङ्ग पल्टिएा ।
अनि पो तल मधुरो टल्किरहेको कर्नालीको सन्नाटा हुइँकिादै आयो र सप्पैको अनुहारमा चड्कन लगाएर गयो ।
न त अगाडि बढ्न सकिएलाजस्तो छ, न पछाडि फर्किन ।
...
भोकले पो हो कि, यो मोरो हिँड्न नसकेको ? सप्पैले यस्तै सोंचे, र भने, 'केही खाउ त ।'
बिहान आमाले प्रेमले झोलामा राखिदिएको रोटी खाएँ । टिमुरको रमरम पार्ने पिरोले ज्यान केही छ्याङ्ग भयो । कर्नालीबाट हुइँकिएर आएको चिसो बतासले भोकाएका ज्यानका कापकाप पनि सुम्सुम्याएर गयो । अब हिँड्न सक्छु कि ?
ल, गोंडा त फेरि बाङ्गिन्छन् । एक खुट्किलो उक्लियो कि पिडौलामाथि फर्किन्छन् ।
'झोलाले हो कि ?' बटालाजीले भने ।
एकजनाले झोला बोकिदिने भए । एकजनाले आफूले टेकिरहेको लौरी दिए । लौरी टेक्दै हिँड्दा सजिलो भयो । बाटो पनि समथल आइपुगेको थियो ।
म हिँड्न थालेपछि, बटालाजी खुसी भए । यात्रा नरोकिने भयो । उनी बेलाबेला चिर्र चिच्चाउाथे । चिच्चाहट पारिपारिका डाँडामा ठोक्किएर मधुरो हुँदै फर्किन्थ्यो । उत्तरतिर आकास छोएका पहाड थिए, हिउँको क्याप लगाएका ।
बटालाजीले त्यही पहाड देखाउँदै भने, 'हामी भोलि त्यो डाँडामा पुग्छौं ।'
साँझको घामका गुलाबी धार सल्लाका मसिना पात छलेर तल झरिरहेका थिए । हामी सर्‍याक सर्‍याक हिाडिरहेका थियौं । 'रात पर्नुअघि हामी गाउँ पुग्नुपर्छ, नत्र बास बस्न गाह्रो पर्छ,' बटालाजीले भनिसकेका थिए । त्यसैले म पछिपछि खोच्याउादै हिाडिरहेको थिएा । जुत्ता साँच्चै नै साँघुरा भएछन् । बुढी औंलाका नङ् टनटनी दुख्न थालेका थिए । ओरालो आयो भने त भत्भती जल्थे ।
घाम पश्चिमतिर डुब्यो । उत्तरतिरको आकास भने झन् गुलाबी भयो । मनमोहक । हिँड्दाहिँड्दै आकासबाट रङ झर्‍यो । फिक्का निलो देखियो र तारा टिलपिलाउन थाले । खोडे चन्द्रमा आकासको किनारैकिनार हिँड्न थाल्यो ।
यता हाम्रा गोडा फत्तक्क गले । अँध्यारो र भीर सँगै आइपुगेका थिए नि त । संयोगवस बटालाजीसित एउटा टर्च रै'छ । मलाई त सुद्धि नै भएन, टर्च ल्याउने ।
'हामी जसरी भए पनि त्यहाँ पुग्नुपर्छ ।' बटालाजीले पर ... टुकी बलिरहेको गाउँ देखाए । त्यहाँ पुग्न त अझै डेढ घन्टा लाग्ला । बाटो सजिलो भए पो । तल अँध्यारोमा हराएको कर्नाली छ, माथि पहरो । पहरामा झुस्स निस्किएका खर समाउँदै कसरी हिँड्नु ।
'नाइँ म त सक्दिनँ,' बबिताले गोडा बजारी ।
'नडराउ,' बटालाजीले सम्झाए, 'बाटो ठूलै हो, अँध्यारोमा नदेखिएको हो ।'
यत्रो हुन्छ बाटो ठूलो ? एकमिटर चाक्लो पनि छैन । बाटामा फेरि ढुंगा हिस्स हाँसेका छन् । म किन आएँ हुँला ?
थुक्क । आफैंलाई चिर्थोन मन लाग्यो । के गर्छस् मंगले, आफ्नै ढंगले । मैले पहराका पातला खर समाएँ । झोला अर्केले बोकिदिएको थियो । त्यसैले अलिकति सजिलो भयो । चिप्ले किराझैं सर्देसर्दे अघि बढ्दा कोही बोले त मरिजाउँ । खत्राक्क ढुंगा खस्यो भने बटालाजी सप्पैको नाम लिन्थे । कोही गयो कि ?

रातको साढे दश बजे, अघि लाग्दै बटालाजीले एउटा घरमा पुर्‍याए । हामी लहरै अँगेनाको छेउमा बस्यौं । मैले हतारहतार जुत्ता फुकालें । हत्तेरी बुढी औंलाका नङ त छुनै नहुने भइसकेछन् । छोयो कि चसक्क दुख्छन् ।
'राति आयौ, के मीठो पकाउन सकिएला र,' अँगेनाछेउ ट्वाल्ल पर्दे बसेकी बुढी महिलाले भनिन् । उनी त निदाइसकेकी रै'छन् । बटालाजीले 'फुपू' भन्दै ढोका ढक्ढकाएका थिए ।
मोही र तोरीको सागसित खाएका मकैका बाक्लाबाक्ला रोटी अहिलेसम्म यति मीठो लागेको थिएन ।
बाहिर चिसो स्याँठ चल्न थालिसकेको थियो ।
फुपूले थाकेका दुई बहिनीलाई भित्र कुनै कोठामा सुत्ने व्यवस्था मिलाइदिइन् । बाँकी हामी भने पुत्ताइरहेको अँगेनाको छेउमा लहरै लम्पसार पर्‍यौं । घरको धुरीमा खातमाथि खात लागेको ध्वाँसो हेर्दाहेर्दे म त निदाएछु ।
निद्रा भने एकदम पातलो । नङ कम्मलमा दरिँदा झिल्का दिमागका चेपचेपमा ठोक्किन्थ्यो । बटालीजीको बाघजस्तो घुराइ । सल्याङबल्याङ ज्यानभरि हिँडिरहेका सक्सकाहट र उपियाँले पनि मेरो थकानलाई जित्न सकेनन् ।
पहिलोपल्ट मैले कुनै सपना देखिनँ ।
...
'ऊ त्याँ पुगेर खाना खाउँला,' बटालाजीले देखाए ।
बाटालाजीले देखाएको पहाड परै छ । कसरी पुगिएला त्यहाँ ? पातले ढाकेको पहाडबाट मसिनो धुवाँ उठिरहेको थियो । खर्क होला ? दुध र रोटी त खान देलान् नै ।
हामी धुवाँ हेर्दे तन्किरहेका थियौं, त्यतैतिर ।

हिजो दिनभरिको हिँडाइले सप्पैका पिडौंला, पिठ्यूका पाता र घुँडा दुखेका रै'छन् । पालैपालो सप्पैले पोल खोलेका थिए । एक बज्न लागिसकेको थियो । सबैका झोला खानतलासी गर्दा जे/जे भेटिए, चाउचाउ, बिस्कुट, सप्पै सकिए । यात्रामा भोक ज्याद्रो हुादो रै'छ, म बुझ्दैछु ।

जंगलैजंगलको बाटो । दिउँसै अँध्यारो । ओस्सिएका माकुराको जाल । तिनै जालमा अल्झिएर काँपिरहेका सुकेका पात । जंगललाई सन्नाटाले निलेको छ । किनकिन मलाई पछिपछि हिँड्न डर लागिरहेको छ, झुस्स निस्किएर केहीले तान्छजस्तो ।
पहाडैपहाड फनक्क घुमेको बाटो पनि कहीँकहीँ पहिरोले भत्काइदिएको छ । बाटोमा कुनै मानिसको पद्छाप भेटिन्नँ । जंगलमा कतै पनि मानिसको गन्ध छैन ।
हामी त लुखुरलुखुर हिँडेको हिँड्यै । ओरालो आउँदा सप्पै कन्छन् । ओरालो हिँड्नुभन्दा त उकालो हिँड्नु ठिक, सप्पै ठान्छन् । उकालो त आफ्नै गतिमा हिँड्न पाइन्छ । ओरालोले त हुत्ताउँदै तल तान्छ ।
कटटटट.. घुँडा बज्छन् । मेरो भने हाल झन् गएगुज्रेको थियो । बूढी औंलाका नङ अहिले नै र्झछन् कि के हो ? कस्तो टनटनी दुखेको हो ।
समथल बाटो आइपुग्यो भने बटालाजी जिस्किन्छन् । केटीहरू लजाउँछन् । 'भाकल के माग्छौ ?,' बटालाजी पछाडि फर्किएर हेर्छन्, 'पोइ ?'
हिहिहिहि ... हामी हाँस्छौं ।
केटीहरूको अनुहार बिग्रन्छ ।
बिचरा पछिपछि हिँड्छन् । यसरी हिँड्न नसक्नेले 'जान्छु' भनेर मरिहत्ते किन गर्नु नि ?
साढे दुई बजेतिर हामी सर्‍याकसर्‍याक तीनवटा मौन खर्क छेउमा पुगेका थियौं । खर्कमा त्यति गोठाला थिएनन् । स्याउलाले बारेका । खरले छाएका । चिसोले झोक्राएका खर्कमा कसरी बस्छन् गोठाला ?
'कहाँदेखि आउनु भा'को ?'
चुलोको छेउमा टाङ फैलाएर बसेको गोठालो छक्क पर्छ ।
'मान्मबाट ।'
उमेर त्यै बीस वर्ष त होला नि । सर्टबाहिर सुइटर र सुइटरबाहिर कोट लगाएको गोठालोले रोटी बनाइदिने भयो । उसको अनुहारमा ध्वाँसो जमेको छ । मान्छे नै नआउने यो जंगलमा कसलाई अनुहार देखाउनु र धुनु, हैन त ? उसले खानाको रेट सुनायो, एक रोटीको बीस रूपैयाँ । दुध फ्रि ।

'म पोहोर साल मान्म गएको थिएा,' उसले केटीहरूलाई हेर्दे भन्यो, 'अहिले कस्तो भा'छ ? चिलगाडी आउँछ ?'
'आउँछ,' बटालाजीले भने, 'कहिलेकाहीँ त दुई-तीनवटै आउँछन् ।'
हामीले झोला अब चाहिँदैन जसरी खर्क बाहिरको चाक्लो ढुंगामा पछार्‍यौं । पालैपालो बोकिएको टेन्ट पनि पछारियो ।
आज त्रिवेणी नपुगी हुादैन, बटालाजीले बिहानै उर्दी जारी गरेका छन् । नत्र भोलि बडिमालिका पुग्न सकिँदैन । सप्पै पुगिसक्छन् ।
मकैको रोटी र दुध खाएपछि ज्यान अलिकति तङ्गि्रयो । करिब तीन सय रूपैयाँ कमाएर गोठालो मख्ख पर्‍यो । 'फर्किँदा पनि यही बाटो आउनुहोला,' उसले भनेको थियो । बटालाजी भने फर्किँदा अर्को बाटो आउने मुडमा थिए ।

'परार त म पनि गएको थिएा,' हिँड्नेबेला गोठालाले भन्यो, 'यसपालि साथी गए, म जान पाइनँ । भाकल पूरा भएपछि जानुपर्छ रे । अर्को वर्ष जान्छु ।'
मैले आफ्नो भाकल मनमनै दोहोर्‍याएँ । पूरा भए त संसारमा मजति खुसी को हुने ?

दुइटा पहाड उक्लिएपछि, मूलबाटोमा अरू स-साना बाटा गाँसिए । कताकता मानिसले गीत गाएको सुनिन थाल्यो । ठूलो ढिस्को उक्लेपछि, माथि अर्को ढिस्को उक्लिरहेका मानिसको रंगीचंगी लहरो देखाउादै बटालाजीले सुनाए, 'ती अछामी होलान् ।'

पहरा-पहरामा मादलको रन्को ठोक्किँदै मधुरो हामीसम्म आइपुग्यो । सिधै आकास उक्लिरहेजस्ता मानिस देखेर अलिकति साहस आयो । लाग्न थाल्यो, हामी आजै त्रिवेणी पुग्छौं । बटालीले तर्साएका छन्, 'ढिलो पुग्यो भने टेन्ट गाड्ने ठाउँ पनि पाइन्नँ ।'
बाटो छेक्न आइपुगेका रूखका लहरा पन्छाउँदै उकालो उक्लिनु चानचुने कुरा होइन के । एउटा ठू्लो ढिस्को उक्लेपछि, बल्ल छ्याङ्ग भयो । उज्यालो भयो । आँखाले जति टाढा हेरे पनि भयो । मसिना दुबाले भरिएका स-साना ढिस्काले हामीलाई कुरिरहेका थिए । बाजुरा-कालिकोट-अछाम र जुम्लाका सबै बाटा यहीँनेर आएर जोडिँदा रै'छन् ।
बाटोभरि फूलैफूल । राता, नीला, रंगीबिरंगी । धेरैका नाम त कसैलाई थाहा छैन रे । केटीहरूले हुर्रिँदै फूल टिपे र गुच्छा बनाए ।

हामीजति अघि बढ्दै गयौं, उति मानिस भेटिादै गए । कोही बाजुराका । कोही अछामका । कोही जुम्लाका । छक्क परेका केही गोरा साहेब पनि भेटिए, जसको गर्धनमा ठूला क्यामरा झुन्डिएका थिए । र ती फोटा खिचिरहन्थे ।

एउटा ढिस्कोको बीचमा गुजुप्प भीड थियो । एकजना अछामका वृद्ध घोप्टो परेका थिए । दम फुलेछ । छाती तलमाथि भैरहेको थियो । एक-दुईजनाले माथि नजाने सल्लाह दिए । तर उनले मानेनन् ।
'यहाँसम्म आएर भगवान नभेटी कसरी जाउँ ?'
उनको प्रश्नको जवाफ कसैसित थिएन ।
उकालो उक्लिँदा खरो हुन्थ्यो । कति मानिस काँक्रा टोकिरहेका थिए । त कतिले लठ्ठी बनाएका उखु लुछिरहेका थिए । यी सबै कुरामा बटालाजीले अल्मलिन दिएनन् । कतै सुस्ताउन पनि दिएनन् । उनले पटकपटक भनिरहे, 'त्रिवेणी आउनै लाग्यो । चाडो हिँड ।'
साँझपख वरिपरिका पहाडका चुचुरा गुलाबी भए । आकास रङ पोतिएझैं भयो । पर ... फराकिलो फाँट देखियो । फाँटको पल्लोछेउमा पाँच-छवटा घोडा दगुरिरहेका थिए भने वल्लो छेउमा गुजुप्प परेका पाल थिए । फाँटैभरि पालैपाल । शान्त । बटालाजीले अनुहार उज्यालो बनाउादै भने, 'त्यै हो त्रिवेणी ।'
त्रिवेणी जति नजिक हुँदै गयो, उति मानिसको आवाज चर्को । दुबो भरिएको माटो थिलथिलो थियो । टेक्दा भासिन्छजस्तो । तर भास्सिएन । ठाउँ नै यस्तो ।
फाँटका छेउछाउ मानिस टुक्रुक्क बसेका थिए । केही खोजेझैं । बटालाजीले सुनाए, त्यहाँ कहिलेकाहीँ धानका बाला भेटिन्छन् । बाला भेट्ने मान्छेले सोंचेको कुरा पाउँछ ।
तर, अहिलेसम्म कसैले भेटेको पत्तो उनलाई छैन ।
एउटा नदी बाजुरातिरबाट आएको थियो, अर्को जुम्लातिरबाट । दुवै नदी गाँसिएर कालिकोटतिर बग्दा रै'छन् । त्यसैले त्रिवेणी भनिादो रै'छ । नदीको पानी एकदम चिसो । हिउँ छोएजस्तो । हात पछिसम्म झन्झनाउने । विस्तारै फाँटलाई हुस्सुले छोप्दै गयो । अँध्यारो भयो ।
'थुक्क बटाला ।'
पाल गाडेर आएका साथीहरूले सुनाए- टेन्टमा त जम्मा चारजना अट्ने रै'छन् । बटालाले धोका दियो ।
चिसो स्याँठ चल्न थाल्यो । काखी पनि चिसिनेगरी । टेन्टमा दुई केटी, बटाला र गोपाल साहुजी सुत्ने भए । असल छन्, केटीको हेरविचार गर्छन्, हामीले ठान्यौं ।
अब पालपाल चहारेर चिया पिउँदै रात काट्न कति गाह्रो होला ? मेरो तल्लो पेट कटक्क दुख्न थाल्यो । बूढी औंलाका नङमा बेस्मारी किला पसेझैं भयो । मुर्छा पर्छु कि के हो ?
...
यसरी त रात कहिल्यै छ्याङ्ग पारेको थिइना । बिहानपख आकासमा बादल मडारिन थालेका थिए । घाम लाग्दैनजस्तो छ । ज्यान तन्काउादै बटालाजी खोज्दै आए । सुरुपसुरुप तातो दुध चिया पिइरहेको देखे र टाढैबाट कराए, 'चाडो नुहाउ । हिँड्नुपर्छ ।'
म टेन्टबाट सर्ट र पाइन्ट झिकेर नदीतिर हुत्तिएा । टेन्टमा केटी थिएनन् । नुहाउन गए होलान् । नदीमा कति हुन् मान्छे ? झ्याम्म डुब्थे र चिच्याउँदै बाहिर निस्किन्थे ।
म कसरी डुबुँ ?
मर्ने भएा ।
आखिर अबेरसम्मको ठास्ठासीपछि मैले झ्याम्म नदीमा हामफालें । निस्किँदा त म तुषारो भइसकेको थिएा । दाँत कट्कटिएका थिए ।
लौ । मारमार सुरू भो । म कता भागुँ ?
लामो लिङ्गोमा गजुर बाँधिएको थियो । प्रत्येक वर्ष गजुरका लागि तीन जिल्लाको मारमार हुँदो रै'छ । कथा पनि त छ, गजुर जुन जिल्लाले तान्छ, बडीमालिका त्यही जिल्ला जान्छिन् । कति त घाइते पनि हुँदा रै'छन् । यसपालि बडीमालिका बाजुरा जाने भइन् ।
यसमा भने बटालाजी खुसी थिएनन् । उनी पक्का कालिकोटे । झन्किएका थिए, 'हाम्रा केटाको तिघ्रामा बल रहेन ।'
अघिअघि लिङ्गो पछिपछि घुइँचो । यति मान्छे आउलान् त, मैले सोंचेकै थिइना । झन् बटालाजीले थपिदिए, 'यसपालि मान्छे घटेछन् ।'
सयौं मानिससित उकालो उक्लिँदा त ज्यान पनि थाक्दो रै'नछ । आकासमा डम्म परेका काला बादल बेलाबेला मडारिन्छन् । आकास झोल्लिएर ह्वात्त खसुलाझैं गर्छ । उकालो पनि नाकको डाँडीजस्तो ठाडो । हाम्रो समूह तितरबितर भइसकेछ । केटीहरू देखिएनन् ।
बाटो डेढ मिटर चाख्लो होला । यताउता भीर छ । भीरबाट तल हेर्‍यो भने मात्रै अँध्यारो । हुरी चल्न थालेको छ । ह्वात्तै उडाएर पाताल पुर्‍याइदेला भन्ने डर । ओस्सिएका ढुंगामा लेउ जमेका छन् । स्वात्त चिप्लायो भने कहाँ पुर्‍याउला ।
'बम भोले ।'
मापाको बाबाजी । कस्तो डर नला'को हो ? भीरमाथि तेर्सिएको ढुंगाको पुछारमा गौतम बुद्धझैं बसेको छ । कसैले छक्क परेर हेरे भने 'बम भोले' भन्दै चिच्चाउँछ । खोई जोगी पनि कहाँबाट आइपुग्छन्, यस्तो भीरमा ?
'ल हेर बुकी फूल ।'
कसैले देखायो । नाम धेरै सुनेको फूल पहिलोपल्ट देखें मैले, भीरमाथि । घीउमा नीलो मसिका धर्का बसेजस्तो बुकी फूल ।
'ल हेर डाँफे ।'
डाँफे डाँडाको पल्लो पुछारमा थियो । भुर्र उड्यो र कालाकाला बादलमा हरायो ।
फाट्टफुट्ट पानीका थोपा खस्न थाले । बर्सा हुने भो । छाता छैन । भए पनि हुरीले के अडिन दिँदो हो ? के गर्ने होला त ? ज्या, बर्सा त भइ नै हाल्यो ।
हुर्रहुर्रिँदै मानिस पहाडको कोखाकोखामा अडेस लाग्न थाले । म अल्लमलिएा, के गरूँ ? आफ्नो समूह त कता छुट्यो, कता ? टाढाटाढाबाट कुहिरो उडेर आयो र बाटो अँध्यारो बनायो ।
अब पर्खिएर हुन्न । मानिस उक्लिन थाले । चिसो स्याँठमा भिजेपछि, ज्यान बच्ला त ? जे पर्लापर्ला । म रूझ्दै हिडें । जुत्ता रूझ्न थाल्यो । मोजा भिज्यो । र, टनटनी दुख्न थालेका नङमा पानी भरियो । चहराउन थाल्यो । पेट खल्लो भयो ।
'ल बासुकी धारा आयो ।'
बासुकी धारामा ननुहाई माथि जान पाइन्नँ । माथिको ढिस्कोको टुप्पामा बडीमालिकाको मन्दिर थियो । बाटोभन्दा दुई सय मिटर पर ... रै'छ, बासुकी धारा । लाइन तयार । लाइनको बीचमा म ।
कुलकुल बासुकी धाराबाट पानी झरिरहेको थियो । म त छक्क । यस्तो भीरमा पनि सिमेन्टको धारा ? कसले बनायो होला ? म ज्यानमा पानी छर्केर शुद्ध भएा । नुहाउनलाई त ज्यान बाँकी कहाँ थियो र ? सप्पै पानी छर्किंदै, दसैंको बोकाझैं थर्थराउँदै फर्किरहेका थिए ।
ल, आइपुग्यो, मन्दिर । अब यहाँभन्दा माथि उक्लिनुपर्देन । किनभने उक्लिने ठामै छैन । माथि त आकास छ रोइरहेको । मन्दिर वरिपरि पाल गाडिएका थिए । कुनैकुनै पालमुन्तिर लगलगी काँप्दै मानिसहरू चिया सुक्र्याइरहेका थिए ।
बटालाजी भेटिए ।
'कता हरा'को' भन्दै तानेर लगे । टेन्ट गाडिसकेछन् । बिहान नभै दर्शन पाइन्नँ । टेन्टमै खुम्चिएर रात काट्नुपर्छ रे । पानी नपरे त रात काट्न सजिलै हुन्थ्यो रे । नाच्यो गायो । शिखरमा उभिएर तल नियाल्यो । यसपल्ट त रद्दी भो, बटालाजी बेलाबेला मुमुर्रिन्थे ।
बडीमालिकाबाट 'राजापुरको बत्ती देखिन्छ' भन्ने सुनेको थिएँ । हेर्न नपाइने भो ।
संयोगवस खानलाई एउटा पाल पसलमा पुरी तरकारी पाइयो । अब रात कसरी कट्ला ? पाल उडाउालाझैं हुरी चल्छ । ह्वात्त पानी भित्र छिर्छ । सप्पैका ओंठ नीला भइसकेका थिए । अघि त मानिसले भजन गाउाथे, यसपल्ट त हुरी र पानीले रातभरि भजन गाइरहे ।
'उठ् दर्शन गर्ने बेला भो,' बटालाजी कराए, 'लाइन लाग्नुपर्छ ।'
बिहानको तीन बजेछ । पानी थामिएछ । टेन्टमा सबै निदाएछन् । मैले ढल्किएको टाउको उठाएा । ओंठका चेपचेपबाट र्‍याल चुहिएछ, पुछेँ ।
ब्याग खोतलखातल पारेा । आमाले ध्वजा, अगरबत्ती पोको पारिदिनुभएको थियो । फेला पारेँ ।
हे दैव के भो ? जगत सुनारको सुनको पाउ त भेटिँदैन । कुनै गोजीमा पनि छैन । कहाँ गयो ? भननन रिङगटा चल्यो । कसलाई भनुँ ?
दर्शन गर्दा जुत्ता लाउनु हुँदैन रे । जुत्ता खोलेा । ओहो, दुवै बूढी औलाका नङ त फक्लक्क बाहिर निस्किएछन् । हावाले छुँदा पनि चसक्क दुख्छन् । म घाइते पाइताला लतार्दे मन्दिरतिर लागेा । लाइन लामै रै'छ । छ नबजी पालो आउलाजस्तो छैन ।
टङटङ कसैले घन्टा बजायो । मन्दिरको अगाडिपट्टि ठूलो घन्टा झुन्डिएको थियो । मैले सुनेँ- राजा बिरेन्द्रले हेलिकोप्टरमा त्यो घन्टा पठाएका हुन् रे । एक क्विन्टलको ।
भुइँमा पातलो तुषारो जमेको थियो । खाली गोडा । चिसो तालुतिर सर्न लाग्यो । हिजो रूझेका कपडा झन् ठिहिर्‍याउन थाले । रगत जम्लाजस्तो भयो ।
लाइन अघि सर्न थाल्यो । चिप्लेकिराझैं । पूजा सुरू भएछ । अबेरपछि, आकास विस्तारै उज्यालो हुँदै आयो । टाढाटाढाका पहाड टल्किन थालेका थिए । हिउँको टोपी लगाएका । हामीभन्दा तल । के म पृथ्वीभन्दा माथि छु ?
लाइन त अगाडि सर्दै गयो । तर मेरा गोडा भने जम्न थाले । बूढी औंलाको दुखाइ दिमागतिर सर्न थाल्यो । खाली पेट बाउँडिन थाल्यो । म आफूलाई थाम्नै सक्दिनँ कि के हो ? लाइनको पछाडिपट्टि एउटा चिच्चाइरहेको थियो, 'बम भोले ।' आफूलाई उभिन गाह्रो छ, त्यो भने त्यस्तरी चिच्चाइहेको छ, तागत कहाँबाट आउछ ?
अब त अति भो । उभिनै सक्दिनँ । फुर्लुङ पल्टिन्छु कि के हो ? 'बम भोले' मा अरूले पनि आवाज थप्न थालेछन् । सारा मन्दिर बम भोलेले रन्किन थाल्यो । अब म ढलेँ ।
हिउँझैं जम्न थालेँ ।
के भो कुन्नि । मेरो मुखबाट अचानक निस्कियो, 'बम भोले ।'
भननन रिंगटा चल्यो । आँखाअगाडि अँध्यारो भयो । त्यही अँध्यारो चिर्दे, एउटा उज्यालो झिल्का स्वात्त गयो ।
मैले भगवान देखेँ ।
'बमभोले,' फेरि सारा मन्दिर उछिट्टनिेगरी सबै कराए । म पनि थपिएँ । ज्यान अलिकति तात्यो ।
मैले बल्ल बुझेँ । किन यसरी सबैले बम भोले भन्न थालेका छन् ? बम भोले भन्दा ज्यानमा रगतको रफ्तार बढ्दो रै'छ । चिसोले जम्न थालेका अंगहरू तात्दा रै'छन् । त्यसपछि त अबेरसम्म 'बम भोले' ।
मेरो पालो आयो । ढोकाबाट भित्र चिहाएँ । धुप बलेको थियो । अगरबत्तीको धुवाँ फैलिएको थियो । ढुंगामा खोपिएकी बडीमालिका रातो कपडाले ढाकिएकी थिइन् ।
मैले अगरबत्ती, ध्वजा र पचासको नोट पुजारीलाई दिएा । उनले लिए । जगत सुनारको भाकल मनमनै बर्बराएँ, 'बडीमालिका, यसपालि जगत सुनारको छोरा होस् ।'
पुजारीले रातो टिका लगाइदिए ।
अब पालो आफ्नो भाकलको । मैले भाकल गरें, 'बडिमालिका यसपालि मलाई एसएलसी पास गराइदेउ । पास भएँ भने अर्को पालि पनि आउँछु ।'
....
आखिर म एसएलसी पास भएँ । गुड सेकेन्ड डिभिजन । गणितमा बत्तिस नम्बर । जगत सुनारले छोरो पाए । भाकल पूरा गर्न फेरि म बडीमालिका गएको छैन । भाकल पूरा गरेन भने श्राप लाग्छ रे । बीचमा जनयुद्धले जान पनि पाइएन । एकपल्ट फेरि जानु छ, कुनै दिन ।
भगवानले मलाई पर्खिरहेका होलान् ।

No comments: