मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, August 5, 2011

छोरी माग्न जाँदा

करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, 'कविजी, अब बिहे गरौं।'
म हाँसेँ।
'बिहे नगरेर नै
मलाई जन्डिस भएको हो।'
म झन् हाँसेँ।
'हेर्नुस्,' उनी भावुक पनि भए, 'खाना राम्ररी खान पाएको भए, जन्डिस हुन्थ्यो? जे पायो त्यही खाइयो, अहिले यस्तो भो। बिहे गरेका भए, कम्तीमा रद्दी खानाबाट त जोगिइन्थ्यो।'
'अब आफैलाई धान्न गाह्रो छ,' म उनको बेडछेउ टुसुक्क बसेँ, 'ब्या गर्‍यो भने झन् के होला? तनाव थपिन्छ। काठमान्डुमा ब्या गरेर बस्न गाह्रो छ।'
त्यो भर्खरै बेरोजगारीको महासागरबाट फुत्त बाहिर निस्किएको बेला थियो। एउटा अखबारमा मैले जीवनको पहिलो जागिर पाएको थिएँ।
अव उनका जन्डिसग्रस्त पहेँला आँखा ठूला भए। आँखाको सेतो सतहमा पहेँला धर्का प्रष्ट देखिए।
'ल हेर्नुस्,' उनले डायरीका पन्ना पल्टाउन थाले, 'मैले हिसाब निकाल्या छु। पाँच हजारमा दुई जनालाई खान पुग्छ। कोठाभाडा तिर्ने गरी सात हजारले मइना मज्जाले कट्छ।'
अब उनको हिसाब बिवरण सुरु भो। दालको यति, चामलको यति, तेलको यति हुँदै नुन, ग्यास, चिनी र चियापत्तीमा पुगेपछि, हिसाब पूरा भो। मलाई मरिचवाला चिया खुब मन पर्थ्यो, मरिचको हिसाब भने देखिएन, तैपनि हिसाब ठिकै थियो। बिहेपछि चाँडै नै सन्तान जन्माउने योजना उनको हिसाबमा थिएन, त्यसका लागि अत्यन्त आवश्यक कन्डम महंगो पनि थिएन, जम्मा ५ रुपैयाँको 'ढाल' युज गरे हिसाबमा गडबडी हुने कुरा थिएन।
'बिरामी हुँदा एक्लोपन फिल हुँदोरैछ,' मित्र झन् भावुक भए, 'अहिले तातोपानी तताएर खान दिने पनि कोही छैन। कुरा गरौं भने पनि कसैलाई फुर्सद छैन। ब्या भएको भए त टन्टै साफ हुन्थ्यो।'
'ब्या त गर्न हुन्थ्यो,' म पनि एकाएक जंगिएँ, 'तलबै राम्रो छैन।'

 बिहानै खबर आयो, केटीका बाउले फेरि भेट्ने रे। मेरो कन्सिरी तातेर आयो, ब्या के बाउसित गर्ने हो? छोरीसित भेट गराउनु छैन। मैले लिडी ढिपी लिएँ, यदि भेट्नु छ भने केटीसित भेट्छु। बाउलाई भेट्दिनँ।

'तीन हजारले दुइटा बच्चाबच्चीसहित काठमान्डुमा बसेका मानिस पनि छन्,' मित्रले थपे, 'त्यो हेर्दा त हामी धेरै नै कमाउँछौं नि, कविजी।'
करिब दुई घन्टाको 'व्यापक' छलफलपछि, निर्क्योल निस्कियो - साला, जे भएपनि विवाह चैं गर्नै पर्छ। तातो भात त खान पाइन्छ। सुख्खमा सँगसँगै हास्ने मौका नआएपनि, दुख्खमा सँगै रुन त पाइन्छ। हामी मात्रै कति ओठ-मुख सुकाउँदै, बेमौसमको एक्लो बेलौतीको रुखझैं खिङ्रिङ्ग पर्ने?
कुरैकुरामा मेरा रहरका पातहरू पलाउँदै गए।
'ठोकम्,' मित्रले आफ्ना तिघ्रामा मुड्की ठोके, 'ठोकम्। जन्डिस ठिक हुनेबित्तिकै म पनि ठोक्छु।'
'हो त?' मेरा ढुकढुकी बढे।
विवाह गर्न सबैभन्दा पहिले केटी चाहिन्छ, बल्ल होस आयो। दुवै अबेरसम्म टोलायौं। लभै गरेर बिहे गर्ने हो भने पनि क्याफे-कफी, कफी-क्याफे गर्दागर्दै धेरै दिन बित्ने भए, पैसा खर्च हुने भए, फेरि 'लभ' बिहेसम्म पुग्ने हो कि होइन? लभै गर्ने हो भने पनि कसैले त पत्याउनु पर्‍यो। यदि लभै परेको भए त यस्ता 'तनाव' पनि हुँदैनथे। आफूबाट त केही होलाजस्तो छैन। अब एउटै बाटो छ - घर। सल्लाह भो, धेरै सपना नपालम्, 'एरेन्ज म्यारिज'लाई दस औंलाको प्रणाम गरौं।
'ल, घरमा फोन ठोकम्,' मित्रले आफ्नो मोबाइल 'अनलक' गर्दै मतिर बढाए। मैले लजाउँदै लिएँ र घरको नम्बर डाइल गरेँ। फोन पनि लाग्यो। फोन आमाले उठाउनुभो।
आराम-बिरामदेखि मौसममा कुरा हुँदै थिए, मित्र वरैबाट चिच्चाए, 'अब बुद्धिजीको ब्या गरिदिनुपर्‍यो, आमा।'
'को हो त्यसरी चिच्याउने?' आमा हास्नुभो।
'साथी हो।'
'के हो, तँलाई ब्या गर्न मन लाछ कि के हो?'
म ट्वाल्ल परेँ, के भनँू?
'केटी हेर्‍या छस्?' आमा हास्दै हुनुहुन्थ्यो, 'कोही छन् भने भन्।'
'यिनको हुति छैन,' मित्र फेरि चिच्याए, 'तपैंले नै खोज्दिनु परो।'
'तँलाई मन पर्ने केटी मैले कहाँबाट ल्याइदिनु?' आमाको फाइनल कुरा, 'तँ आफै खोज।'
म आफै खोज्न कता भौंतारिऊँ त, प्रभु?

...
तीर ठिक ठाउँमै लागेको रैछ। यसपालि दसैंमा घर जाँदा था' भो। सुर्खेत, दिदीको घरमा चिट्चिट् पसिना निकाल्दै बोकेको ब्याग के बिसाएको थिएँ - सुत्ने र सिरियल हेर्ने काम पाएर बेस्मारी मोटाएकी दिदी, बेस्मारी फुलेका गाला माथि सार्दै हासिन्, 'बिहे गर्छस्, हैन?'
'केटी पाए, किन नगर्ने?' मैले हत्केलाका रुमालले पसिना पुछेँ, 'कोही छ?'
'एउटी छ। आज हेर्न जान्छस्?'
ज्या, अचानक पैतलादेखि तालुसम्म सिरिङ्ग भो। यस्तो उत्तरको त आसै थिएन। दिदीले केटीको बखान सुरु गरिन्, 'केटी राम्री नै छ। एमए पढ्दैछे। गाउँकी हो, दुख्ख बुझ्छे। पैला तँ केटी हेर्। केटीले तँलाईृ पत्याई र तेरो चित्त बुझ्यो भने यै दसैंमा ब्या गर्ने सल्लाह भा'छ।' केटी जेठानले खाजेको रैछन्। उनै जेठान मेरी भाउजुका हसमुख दाइ।
'म जेठानलाई खबर गर्छु,' दिदीले मलाई गहिरिएर हेरिन्, 'आजै जा, हेर्न।'
लौजा, मेरो तल्लो पेट कटक्क दुख्यो। हातगोडा फतक्क गले। भननन्न रिंगटा चल्न थाल्यो। साँच्चै विवाह हुनै नै भो त?
'थाक्या छु,' म छट्पटिएँ, 'नुहाको पनि छैन। आज त जान्नँ।'
'अनि कहिले जाने त?'
'भोलि जान्छु,' मेरो आवाज काँप्यो।
दिदीले मेरो कुरा जेठान र आमालाई 'फर्वार्ड' गरिन्। म भने सुत्त कोठाभित्र छिरेर अबेरसम्म टोलाएँ। एकछिन त कता-कता लाज पनि लाग्यो, कसरी जाउँला भोलि? तर, एक्कै छिनमा डर लाग्न थाल्यो। केही गरी बिहे भइहाल्यो भने त ... छ्या, तल्लो पेट खल्लो भएर आयो।
'भोलि बिहानै जानुपर्छ केटी हेर्न,' जेठानले साँझपख खबर पठाए, 'यसो चिया खाने बहानामा।'
कुरा त झनै गम्भीर हुँदै गयो। म प्यारालाइसिसको रोगीझैं फतक्क गल्दै गएँ। राति छतमा उत्तानो परेर, चन्द्रमा हेर्दै सोचिरहेँ, कस्ता होलान्, विवाहपछिका दिनहरू? एक्लै आएको थेँ, दुई भएर जानु ... छ्या। कहिले मन फुरुङ्ग भयो त कहिले भरङ्ग। एकएक गदै काठमान्डुकी उही केटीको झझल्को आइरह्यो, जसलाई मैले कैयौं वर्ष पछ्याएँ। 'के छ खबर' लेखेर 'पाँचसय पल्ट' पठाएका एसएमएसका जवाफ ऊबाट एकदुई पल्ट मात्र आउँथ्यो - 'एकदम ठिकठाक।'
काठमान्डुकी तिनै केटीको झझल्कोेले बिथोल्दै गयो। यदि, बाटोमा अचानक भेट हुँदा उसलाई म कसरी भनँूला, 'मेरो त बिहे भो। उनी मेरी वाइफ।'
कानका भित्री तह र नङका चेप पनि बाँकी नराखेर डसिरहेका मच्छडलाई छल्न टाँगेको झुलभित्र बिहानीपखसम्म पनि म छट्पटाइरहेँ।
...
'छिः राम्रा लुगा छैनन्?' बिहान सवा आठ बजे दिदी च्याँट्ठिइन्, 'सबै फुङ्ग उडेका छन्। यो त गतिला लुगा लगाउनै जान्दैन।'
'अहिलेको फेसन नै यस्तै छ,' म कित्रिक्क हासेँ।
निलो, अगाडिपट्टि रङ खुइलिएको पाइन्ट। खरानी रङको सर्ट। छालाका चप्पल लगाएपछि, मेरो तयारी पूरा भो। धेरै पछि, कपालमा तोरीको तेल लगाएँ। म यस्तै छु, किन बढी देखावटी बनूँ? केटीको मन पराए पराओस्, नपराए यत्रै सित्ती।
बिहानैदेखि पेट खल्लो भइरहेको थियो, मरिचवाला कालो चिया पिएपछि ठिक भो। नौ बज्यो, ढुकढुकी बढ्न थाल्यो।
साढे नौ बजे जेठान आइपुगे।
बाइक जेठानले चलाउने भए, बाटो उनैले देखेका। अल्लि बढी समाजसेवी छन्। गाउँभरिको टन्टा लिएर हिँड्छन्।
'केटीका बाउलाई राजनीति मन पर्छ,' जेठान टाउको पछाडि बटार्दै हाँसे, 'सानातिना नेता हुन्।'
'कुन पार्टीका?'
'एमाले।'
'नेतालाई पत्रिका चाहिन्छ,' म हासेँ, 'पत्रकार भनेपछि त छोरी देलान् नि।'
जेठान बोलेनन्। अगाडि बाटोमा आइपुगेका बाख्रालाई बेस्मारी हर्न बजाए।
बाइक गाउँभित्र छिर्‍यो। अगाडि-अगाडि हुइँकिएर गएको जिपले धुलो र धुवाँ उडायो। खत्तमै पार्‍यो कि के हो? अत्तालिँदै मैले बाइकको साइड सिसामा आफ्नो अनुहार र कपाल हेरेँ। धन्य, धुलो जमेको रहेनछ।
दसैंको माहोल भएपनि गाउँ सुनसान नै थियो। त्यसै त, दसैंको उराठलाग्दो मौसम, त्यसमा पनि मौन गाउँ। जे भएपनि गाउँ छोएपछि भने मन चन्चल पनि भयो।
आफूले हेर्न जान लागेकी केटी कस्ती होली?
केटीलाई थाहै नदिई उसलाई हेर्ने योजना छ। यदि, केटी घरमै भेटिई भने म कसरी आँखा जुधाउँला? म आफ्नै मनको सुमेरुमा फन्का लगाउन थालेँ।
र, एकछिनमै झस्किएँ।
जेठानले केही भनेजस्तो लाग्यो। बाइकको चर्को घ्यार्र-घ्यार्र, त्यसमा पनि हेल्मेटभित्र सुस्त बोलेको आवाज मैले बुझ्नै सकिनँ।
अगाडि फिक्का रङको सुरवाल कुर्ता लगाएकी एउटी केटी बाटोको छेउछेउ हामीतिर आइरहेकी थिई। उसकै अगाडि जेठानले घ्याच्च बाइक रोके। केटीको कपाल पछिल्लतिर एकचुल्ठो परेको थियो। अरू मेले ध्यान दिइनँ।
'कता जान लाको, नानी?'
'अल्ली पर,' ऊ लजाई।
'बा घरमै हुनुहुन्छ?'
'अँ।'
केटी फेरि लजाउँदै अघि बढी। जेठानले फेरि बाइक हुइँकाए। म फेरि मनको अन्तर्यात्रामा पसेँ। हिन्दी फिल्मका केटाले केटी हेर्न गएका कैयौं दृश्य आँखाभरि फनफनी नाच्न थाले। म पनि त्यस्तै फिल्मको हिरो हुँ कि के हो? गजक्क परेँ।
एउटा घरको गेटअगाडि सुस्त गतिमा बाइक रोकियो। गेट छेउछाउ बेसरमका झाडी थिए। दुईतले घर पुरानो मोडेलको थियो, टायलले छाएकोे। माथिल्लो तलाको देब्रेपट्टिको झ्यालमा 'इकाई समिति'को बोर्ड टाँसिएको थियो। घरको छेउछाउ अरू घर पनि थिए। केही मानिस ओहोरदोहोर गरिरहेका थिए।
बाइकको आवाज सुनेर एकजना अधबैंसे मानिस तल टावेल र माथि सेतो हाफ बन्डीमा बाहिर निस्किए। उनको मुखमा ब्रस र ओठभरि फिँज थियो। दाँत माझिरहेका रैछन्।
म प्यारालाइसिसको रोगीझैं फतक्क गल्दै गएँ। राति छतमा उत्तानो परेर, चन्द्रमा हेर्दै सोचिरहेँ, कस्ता होलान्, विवाहपछिका दिनहरू? एक्लै आएको थेँ, दुई भएर जानु ... छ्या। कहिले मन फुरुङ्ग भयो त कहिले भरङ्ग। 

जेठान 'नमस्ते' गर्दै उनीछेउ पुगे र खासखुस गर्न थाले। ती मानिसले मतिर हेरे, मैले बाइकको ऐना। खासखुस गर्दै जेठान ती मानिससँगै घरको पछिल्तिर गए।
केटीको घर त यै हो क्यारे। मैले लजाउँदै वरिपरिका घरतिर हेरेँ। सबै मानिस आआफ्नो काममा व्यस्त थिए। हाम्रो योजना सायद कसैलाई थाहा थिएन।
एकैछिनमा जेठान हतारिँदै आए।
'ज्याइँ साप,' उनले कानेखुसी गरे, 'उहाँ नै हो केटीको बाउ। नमस्ते गर्नू।'
म जेठानका पछिपछि लागेँ।
उनले घरपछाडि लगे। तर घरको मूल ढोका पछाडि नै रैछ। पछिल्तिर टाढा-टाढासम्म फैलिएका फराकिला खेत थिए। आँगनको छेउछाउमा केही फूल।
केटीका बाले हास्दै स्वागत गरे। उनी अहिले भने चट्ट आइरन गरेका लुगामा थिए। मैले हात जोडेँ।
'ल, यतै बसम्,' उनले पिढीमा ओछ्याएको गुन्द्री देखाए।
बस्दै गर्दा छेउको झ्यालबाट मैले खुसुक्क भित्र चियाएँ। एउटी महिला नाङ्लोमा चामल हेर्दै थिइन्। आँखा जुधे। म थचक्क बसेँ।
'केटा उहाँ नै हो,' जेठानले भने।
म निहुरिएँ।
'के गर्नुहुन्छ?' प्रश्न सुनेर मैले शिर उठाएँ। उनले मलाई गढेर हेरिरहेका रैछन्।
'पत्रिकामा काम गर्छु।'
'कति भो, काम गर्न थालेको?'
'तीनचार वर्ष।'
'काठमान्डुमा बस्न थालेको कति वर्ष भो?'
'नौ।'
'बा के गर्नुहुन्छ?'
'हुनुहुन्न चार वर्ष भो बितेको।'
'पुर्ख्यौली घर कता हो?'
'सुर्खेत रतु,' म हासेँ, 'तर कता पर्छ, मलाई थाहा छैन।'
'जग्गाजमिन कति छ?'
'एउटा घर छ। कालीकोटमा।'
'एउटा घडेरी पनि छ, यही सुर्खेतमा,' जेठानको बक बल्ल फुट्यो, 'एयरपोर्टको छेउमा।'
'कति भाइ हुनुहुन्छ?'
'दुई।'
यत्ति सोधेर उनी मौन भए। एकछिन मौनता छायो। भित्रबाट नाङ्लोमा चामल उफारेको आवाज मन्दमन्द आइरह्यो।
'खै, केही सोध्नै आएन,' उनी खिस्स हाँसे, 'मेरो जीवनमा पहिलोपल्ट नै हो, यसरी घरमा मान्छे छोरी माग्न आएको।'
'मेरो पनि पहिलोपल्ट नै हो, केटी हेर्न आएको,' नबोलूँ भन्दै थेँ, फ्याट्ट आयो। मेरो कुरा सुनेर जेठान हिःहिःहिः गर्दै हाँसे। बाउको अनुहार भने रातो भयो।
'अब अहिलेको जमानामा के भर। छोरीको कतै लभसब पो पर्‍या छ कि?' बाउको मुहारको रङ परिवर्तन भयो, 'ब्या भन्ने कुरा भावीले लेख्या हुन्छ। म छोरीलाई सोध्छु, अनि खबर गरौंला। अब हामीले भनेको कुरा छोरीले मान्छे कि मान्दिन। अझै पढ्छु भनी भने त मेरो के लाग्छ र?'
यदि केटीको अन्तै लभ-सब छ भने त मलाई नदिने रे!
म आफूलाई फिल्मको साइड हिरोजस्तो अनुभव गर्न र निरास हुन थालेँ।
'हेर्नुस्, ब्या भन्ने कुरा त लेखेर आको हुन्छ,' बाउले मेरो निरास अनुहार देखे र सम्झाए, 'छोरीले मानी भने त मेरो भन्नु केही छैन।'
त्यसपछि, लामो सन्नाटा छायो। जेठान अपराधीझैं टाउको निहुराएर बसिरहे। बेलाबेला सोल नचाउँदै जुत्ता हेर्थे। मौन बस्यो, एकअर्कासँग आँखा जुध्यो भने खिस्स हाँस्यो।
'लौ त, छोरीलाई नसोधी, अरू कुरा कसरी अगाडि बढाउनू,' बाउ तिघ्रामा हातले टेक्दै उठे, 'फेरि यो वर्ष हाम्लाई जुठो पनि लाछ।'
उठ्दै गर्दा मैले फेरि झ्यालतिर चिहाएँ। कसैले खुसुक्क हेरेजस्तो पनि लाग्यो। केटी नै थिई कि?
कस्ता झुर बाउ, यसो भेट त गराउनुपर्छ। अब भेट भइहाल्यो, कुरा त चलिरहन्छ, केटीलाई पछि भेटौंला - सोच्दै हामी फर्कियौं।
'अनि ज्वाइँ साप,' बाइकले रफ्तार लिएपछि जेठानले ठूलो स्वरमा सोधे, 'अनि केटी कस्ती लागिन् त?'
'देखे पो भन्नु,' म सारा गाउँ थर्किने गरी कराएँ।
'लौ, अघि बाटोमा कुरा गरेकी केटी पो हुन् त।'
'भन्नु पर्दैन?'
'भनेकै त हो,' जेठाले हेलमेट पछाडि बटारे, 'ए ... सुन्नु भएनछ।'
हत्तेरिका।
'ज्वाइँ साप, केटीले झ्यालबाट लुकीलुकी तपाईंलाई हेरिरहेकी थिइन्,' जेठान हाँसे, 'मन पराएजस्तो छ।'
मलाई काउकुति लाग्यो। म फेरि हतारमा देखेको केटीको अनुहार फुर्सदमा कल्पन थालेँ।
...
त्यसरात पनि अबेरसम्म निद्रा लागेन। पूर्ण हुँदै गएको चन्द्रमा हेर्दै टोलाइरहेँ। साँझपख आमाले फोन गरेर 'हार्दिक बधाई' टाइपको कुरा पनि गर्नुभएको थियो। दिदी पनि मख्ख थिइन्। म भने एउटा गहिरो उकुसमुकुस र छट्पटीमा थिएँ। आँखाभरि उही काठमान्डुकी 'ठिकठाक' एसएमएस केटीको अनुहार आइरहेको थियो।
राति अबेर सुतेँ, बिहान भने चाँडै नै उठेँ। जेठानले खबर पठाएछन्, केटीका बाउले फेरि भेट्ने रे। मेरो कन्सिरी तातेर आयो, ब्या के बाउसित गर्ने हो? छोरीसित भेट गराउनु छैन। मैले लिडी ढिपी लिएँ, यदि भेट्नु छ भने केटीसित भेट्छु। बाउलाई भेट्दिनँ।
'सोध्दा एउटा कुरा छुटेको छ रे,' तीन दिनपछि फेरि जेठानले फोन गरे।
'के रैछ?'
'केटोको पार्टी चैं कुन हो भनेर सोधेका छन्।'
मैले पनि 'पत्रकारको जात, धर्म र पार्टी हुँदैन' भनेर भन्दिनुस्, भन्दिएँ।
उताबाट फेरि कुनै प्रश्न आएन।
काठमान्डु फर्केको एक हप्तापछि, जेठानले फोनमा सुनाए, 'लौ ज्वाइँ साप। बधाई छ। केटीले बिहे गर्न मानेजस्तो छ।'
'हत्तेरी,' मलाई झोक चल्यो, 'मैले पनि त मन पराउनु पर्‍यो नि।'
'भेट गराम्ला नि। केटीसित भेटेर तपाईं नै कुरा गर्नुस्।'
'ठिक छ।'
फेरि समय मौन भएर बितिरह्यो। कुनै खबर आएन। बरु जेठान नै काठमान्डु आए। 'कोक-गफ'मा जेठानले अबेरपछि सुनाए, 'आउँदा केटीका बाउसित कुरा भएको थियो।'
'अनि?'
'एमाले नभई त छोरी दिन्न भन्छन् त,' जेठान हाँसे, 'नत्र उनको छवि बिग्रिन्छ रे।'
हे भगवान्।
'लौ जेठान यस्तो कुरा पनि हुन्छ?' म पनि जंगिएँ, 'ब्या गर्नलाई त यत्रै एमाले भइँदैन।'
जेठान अबेरसम्म मौन भएर कोक घुट्काइरहे। अर्को दिन खिस्स हाँस्दै आफ्नो हात पाइन्टको पछिल्लो जेबतिर लगे र एउटा खाम झिके। र, टेबलमाथि थपक्क राखे। म अझै झोकमा थिए।
'चिन्ता नलिनुस् ज्वाइँ साप,' जेठानले खाम खोले, 'मैले अर्की केटी पनि हेर्‍या छु।'
र, उनले एउटा फोटो झिकेर मतिर बढाए।

No comments: