मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, May 28, 2011

हार-दिक्क अनुरोध १

सम्माननीय सभामुख महोदय,

'कूटनैतिक राहदानी' दुरुपयोगमा माननीय सभासद्ज्यूहरू हैन, राहदानीमा चयन गरिएको 'रङ्ग' दोषी हुनसक्छ ! यसै त क्रान्तिबाट आएका सभासद्हरू, त्यसमा पनि 'रातो' पासपोर्ट दिइएपछि उहाँहरूको मनोदशा कति आक्रामक हुँदो हो— यो कोणबाट सोच्ने बेला आएको छ π कूटनैतिक पासपोर्ट 'रातो' हुनुमा, वा मानवमनमा रङ्गको प्रभाव अध्ययन नै नगरी 'कलर सेलेक्सन' गरिएको  हुनुपर्छ, या त संसदीय व्यवस्थालाई असफल सिद्ध गर्न जानाजान 'रातो' रङ्गको  चयन भएको हुनुपर्छ।

सभामुख महोदय,

'पासपोर्ट काण्डमा' सभासद्को 'पद' हैन, उहाँहरूको 'उमेर'को पनि दोष हुन सक्छ। थाहा भएकै कुरा हो— रातो राम्रो, गुलियो मीठो बैंस छँदाखेरि, अहिलेका जस्ता युवा  सांसद पाउनेछैनौं फेरि π सभासद् हुन् कि सर्वसाधारण- आखिर 'युवामन' सबैको एउटै हो π रातो 'टीका' निधारमा टलक्क टल्कियोस् कि, रातो 'पासपोर्ट' हातमा झुलुक्क झुल्कियोस्— छातीभित्र मायाको आगो आफैं सल्किन्छ π किनभने, बैंसमा 'रातो' भेटेपछि 'कुछ-कुछ' मात्र हैन— 'सबकुछ' होता है सभामुख महोदय π

महोदय,

रातो रङ्गले विभिन्न मानिसलाई भिन्न-भिन्न प्रभाव पार्छ। बुझ्नेहरू यसलाई क्रान्तिको प्रतीक ठान्छन्, बुझ पचाउनेहरू उग्रताको संकेत मान्छन्। हाम्रा सभासद् महोदयहरू शान्तिको पक्षधर हुनुहुन्छ। हुनसक्छ, खल्तीको 'रातो' पासपोर्टले दिमागलाई हिंसातर्फ प्रेरित गर्न खोज्यो होला π यही मानसिक समस्याबाट मुक्तिका लागि त्यो 'उग्र' पासपोर्ट आफ्ना सहयोगीमार्फत् सात समुद्रपारि दाहसंस्कार गरिएको पनि हुन सक्छ π

महोदय,

टाढा जानेलाई भाडामा पासपोर्ट दिएर डेढ-दुई करोड दक्षिणा लिएकै भए पनि त्यसलाई दुरुपयोग भन्न मिल्दैन। संविधान बनाउने सर्तमा दिइएको 'पासपोर्ट' संविधान नबनेपछि कसैको धन कमाउने माध्यम त बन्यो— यसलाई सदुपयोग नै मान्नुपर्छ π सभासद्हरू विदेश नपुगे पनि उहाँहरूको पासपोर्ट संसार घुम्दैछ— यसमा हामीले गर्व गर्नुपर्छ, गर्भ बोक्नु हुँदैन महोदय π

महोदय,

यदि यो समस्या नै हो भने पनि सभासद् हैन, पासपोर्ट  जिम्मेवार छ। यसका लागि देशको 'राहदानी नीति'मा नै आमूल परिवर्तन आवश्यक देखिन्छ। आफ्नो 'स्टाटस'बाट चिप्लनेहरूका लागि 'डिप्लोम्याटिक' हैन, 'चिप्लोम्याटिक' पासपोर्ट आवस्यक छ। काण्डैकाण्डमा लुटपुटिई बिभिन्न 'लुटनीतिज्ञ'हरू अख्तियारको कारबाही होइन, 'लुटनैतिक राहदानी'का लागि योग्य छन्।

महोदय,

रङ्गले मान्छेको ढङ्ग परिवर्तित हुनसक्छ। सर्वसाधारणले बोक्ने 'हरियो' पासपोर्टले 'चिप्लोम्याट'हरूको मन प्रकृतितर्फ तानियो भने- खेतबारी 'प्लटिङ' कसले गर्ला π 'अफिसियल'हरूको 'नीलो' पासपोर्टले अध्यात्मतिर लागे भने- भट्टीतिर को छिर्ला π 'रातो' पासपोर्ट दिंदा साँच्चै 'कुटनीतिज्ञ' भए भने- सिडियो कसले कुट्ला π

त्यसैले महोदय,

'चिप्लोम्याट'हरूका लागि बुद्धि-विवेक र बानी-बेहोरा सुहाउँदो 'कालो पासपोर्ट'को प्रस्ताव गरेको छु।  'ट्राभल डकुमेन्ट'लाई पहेंलोमा परिवर्तन गरेर 'लुटनीतिज्ञ'हरूलाई कालो रङ्को 'लुटनैतिक राहदानी' दिने हो भने मात्र उहाँहरूको क्षमताको कदर हुनेछ।

महोदय,

'कालो' डरको प्रतीक हो, यसले कानुन नमान्नेलाई मनोवैज्ञानिक उपचार पनि गर्न सकिन्छ। अँध्यारोको प्रतीक हो 'कालो'— पासपोर्ट देख्नासाथ उसको भित्री मन पढ्न सकिन्छ। कतिपय संस्कृतिमा कालो रङ्गलाई मृत्युको प्रतीक मानिन्छ— 'मृत्यु-भय'का कारण पनि उहाँहरूको मन कुकर्मतिर नजाला भन्ने आशा गर्न सकिन्छ।

महोदय,

अन्त जे होला— तर हाम्रो देशमा 'कालो पासपोर्ट', कालो कर्म गर्नेहरूको आन्तरिक पहिचान बन्न सक्छ। 'कालो पासपोर्ट' बोकेर विदेश जान पनि पाइँदैन, स्वदेशमा 'मस्ती मार्न' पनि पाइँदैन। किनभने, पासपोर्टको पहिलो पानामै लेखिएको हुनेछ— 'राहदानीवाहकलाई कडा चेकजाँच गरी सरासर फर्काइदिन तथा जर्बजस्ती गरे, नचाहिंदो धाक धक्कु लगाए कानुनसम्मत दण्ड प्रदान गरिदिन सबै सरोकारवालाहरूसँग नेपाल सरकारको नाममा परराष्ट्र मन्त्रालय 'हार-दिक्क' अनुरोध गर्दछ !'



©http://www.ekantipur.com/saptahik/article/?id=4336

No comments: